काठमाडौं । प्रत्येक वर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले वि.सं. २०७८ को लागि बालवाङ्मय तथा अनुसन्धान केन्द्रका महासचिव अनन्त वाग्लेको उपन्यास ‘कदम’लाई प्रदान गर्ने निर्णय गरेको छ । श्याम शाहको कथासंग्रह ‘पथेर’सँगै कदमलाई पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको कोषले जनायो ।
यसभन्दा अगाडि ४ वटा कृतिहरूले पहिचान पुरस्कार पाइसकेको छ । राजन मुकारुङको निबन्धसंग्रह ‘फेरिँदो सौन्दर्य’, अर्जुन खालिङको कवितासंग्रह ‘गोयङको सुगन्ध’ र यज्ञशको उपन्यास ‘भुइयाँ’ र उन्मुक्त पुस्ताको कवितासंग्रह ‘आफर’, सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’ले पहिचान पुरस्कार पाइसकेका छन् भने पहिचान सम्मानबाट खगेन्द्र संग्रौलालाई सम्मानित गरिसकेको छ । पहिचान पुरस्कार रु ४,०२,००२ अक्षरेपि (चार लाख दुई हजार दुई रुपैयाँ) रहेको छ ।
२०७८ पुस ११ गते सानेपामा भएको केन्द्रको नियमित बैठकले महासचिव वाग्ले पुरस्कृत भएकोमा बधाई दिएको छ । यसैगरी केन्द्रका सदस्य घनश्याम राजकर्णिकारले ‘डा तारानाथ शर्मा नियात्रा सम्मान’ प्राप्त गनुभएको छ । अर्का सदस्य अशोकमान सिंहले ‘कमलराज रेग्मी पुरस्कार’ प्राप्त गर्नुभएको छ । सदस्यद्वयलाई पनि सोही बैठकले बधाई दिएको छ ।

