केके बालङ्‍मय कला साधना सम्मान घोषणा

वरिष्ठ चित्रकार कान्छाकुमार (केके) कर्माचार्यले चित्रकला क्षेत्रमा साधना गर्ने साधकलाई सम्मान गर्न पुरस्कार स्थापना गर्नुभएको छ ।

आज आफ्नै निवासमा आयोजित कार्यक्रममा उहाँले ‘केके बालवाङ्‍मय कला साधना सम्मान’ पुरस्कारको घोषणा गर्नुभएको हो । बाल साहित्यको क्षेत्रमा सक्रिय रहेको बालवाङ्‍मय तथा अनुसन्धान केन्द्रको संयोजनमा पुरस्कार प्रदान गरिने कर्माचार्यले बताउनुभयो । उहाँका अनुसार यसै वर्षको मङ्सिरदेखि पुरस्कार प्रदान गरिने छ । यो सम्मान नगद रु १० हजारसहित हरेक वर्ष एक जनालाई प्रदान गरिने केन्द्रका अध्यक्ष प्रमोद प्रधानले जानकारी दिनुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति कर्माचार्यले यस पुरस्कारका लागि रु एक लाख ५१ हजारको अक्षयकोषसमेत स्थापना गर्नुभएको छ । केन्द्रका सल्लाहकारसमेत रहनुभएका कर्माचार्यले चित्रकला क्षेत्रमा योगदान गरेकालाई प्रोत्साहन गर्न पुरस्कार स्थापना गरिएको बताउनुभयो ।

हुलाक टिकट डिजाइनमा ख्याति कमाउनुभएका कलाकार कर्माचार्य विसं २००४ मा काठमाडौँमा जन्मिनुभएको हो । मुहारचित्रमा विशेष दक्खल राख्‍ने कर्माचार्यले चार सयभन्दा बढी टिकट डिजाइन गरिसक्नुभएको छ ।

पृथ्वीनारायण शाहको औँलो ठड्याएको चित्रका कारण कर्माचार्य चर्चित हुनुहुन्छ । यसका साथै कर्माचार्यले विभिन्न किताबमा समेत आफ्नो कला पस्किसक्नुभएको छ ।