अध्यक्ष प्रधानद्वारा अक्षयकोषका लागि ५ लाख प्रदान

काठमाडौं । बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानले साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान पुरस्कारका लागि ५ लाख रुपैयाँ प्रदान गर्नुभएको छ ।

२०७८ पुस ११ गते सानेपामा भएको केन्द्रको नियमित बैठकमा वरिष्ठ साहित्य सर्जकसमेत रहेका प्रधानले ५ लाख रुपैयाँको चेक केन्द्रकी कोषाध्यक्ष शान्ति सापकोटालाई हस्तान्तरण गर्नुभयो । गत मंसिर २४ गते तनहुँको आँबुखैरेनीमा भएको केन्द्रको राष्ट्रिय सम्मेलनमा प्रधानले बाल साहित्य साधकलाई सम्मान अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको थियो ।

सम्मानका लागि सम्झौतापत्रमा केन्द्रका तर्फबाट उपाध्यक्ष विजयराज आचार्य र संस्थापकको तर्फबाट प्रधानले हस्ताक्षर गर्नुभयो । हरेक वर्ष बालसाहित्य क्षेत्रमा साधना गरेका एक व्यक्तिलाई यो सम्मान प्रदान गरिने केन्द्रका उपाध्यक्ष आचार्यले बताउनुभयो । ३० वर्ष बालसाहित्यका क्षेत्रमा सेवा पु¥याएका साधकलाई २०७९ सालबाट यो सम्मान प्रदान गरिने आचार्यले बताउनुभयो। पुरस्कार रकम २५ हजार रुपैयाँको हुनेछ ।

बालसाहित्यका अग्रज सर्जक एवं अनुसन्धानदाता, वरिष्ठ पत्रकार प्रधानले आफ्नो छोरी सृष्टि प्रधानको जन्मदिनको अवसरमा उक्त रकम केन्द्रलाई हस्तान्तरण गरेको बताउनुभयो । ’छोरी सृष्टि श्रेष्ठको जन्मदिनको अवसर पारेर आज म, मेरी श्रीमती ब्यूटी श्रेष्ठ र छोरी सृष्टि प्रधानको तर्फबाट बालवाङ्मय तथा अनुसन्धान केन्द्रलाई अक्षयकोष स्थापनाका लागि पाँच लाख रुपैयाँ हस्तान्तरण गर्न पाएकोमा खुसी लागेको छ,’ प्रधानले भन्नुभयो, ’संस्थाको आज बसेको बैठकमा सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गर्नुका साथै संस्थाका कोषाध्यक्ष शान्ति सापकोटालाई चेक हस्तान्तरण गरेँ ।’

हस्तान्तरण कार्यक्रममा संस्थाका महासचिव अनन्त वाग्ले, सचिव मञ्जु ज्ञवाली, सदस्यहरु डा तारानिधि भट्टराई, रविन्द्र मानन्धर, केदार श्रेष्ठ र नेत्र तामाङको उपस्थिति थियो ।

बैठकले केन्द्रका महासचिव अनन्त वाग्लेद्वारा लिखित उपन्यास ‘कदम’ले पहिचान पुरस्कार – २०७८, केन्द्रका सदस्य घनश्याम राजकर्णिकारले ‘डा तारानाथ शर्मा नियात्रा सम्मान’ र सदस्य अशोकमान सिंहले ‘कमलराज रेग्मी पुरस्कार’ प्राप्त गर्नुभएकोमा बधाई दिने निर्णयसमेत गरेको सचिव मञ्जु ज्ञवालीले बताउनुभयो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *