काठमाडौँ । बालवाङ्मय तथा अनुसन्धान केन्द्रका सल्लाहकार प्राडा रमेशप्रसाद भट्टराईले नेपालमा सरकारले बालसाहित्यमा मिहिनेत र लगानी नगरेको बताउनुभएको छ । बालसाहित्यको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे विशेष प्रक्षिक्षण कार्यक्रममा उहाँले उक्त भनाइ प्रस्तुत गर्नुभएको हो ।
केन्द्रको आयोजनामा जुममार्फत २०७८ साउन २३ गते उक्त कार्यक्रम भएको थियो । केन्द्रका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा प्राडा भट्टराईको परिचये महासचिव अनन्त वाग्लेले प्रस्तुत गर्नुभएको थियो । त्रिविमा नेपाली विषयका प्राध्यापक भट्टराई बालसाहित्य र बालपाठ्यसामग्रीका विज्ञ पनि हुनुहुन्छ ।
‘राज्यले बालसाहित्यमा लगानी गर्नुपर्छ । नेपालमा राज्यले बालसाहित्यमा मिहिनेत र लगानी गरेको छैन । विधागत स्वरूपको स्पष्टता छैन । निजीक्षेत्रले मात्र यसमा लगानी गरेको छ,’ कार्यक्रममा प्राडा भट्टराईले भन्नुभयो ।
पाठ्यक्रम विकास केन्द्रमासमेत उहाँ शिक्षासँग सम्बन्धित विभिन्न संस्थामा संलग्न हुनुहुन्छ । पछिल्लो समय बाल लोकसंस्कृति र बाल लोकसाहित्यको कुरा हामीले गर्नै छाडेको उहाँको भनाइ थियो । ‘हाम्रै हजुरबाआमाले भनेका कुरालाई अघि ल्याउन सकेनौ,’ भट्टराईले भन्नुभयो ।
उहाँले बालसाहित्य बौद्धिक विमर्शको विषय अझै बन्न नसकेको उल्लेख गर्नुहुँदै यसको विधागत छलफल हुनुपर्ने बताउनुभयो ।
उहाँले पिटर हन्टको उदाहरण दिनुहुँदै भन्नुभयो, ‘उनले बालसाहित्य बालबालिकाको बौद्धिक र सांस्कृतिक गुरु हो भनेका छन् । उनले गुरु शब्द नै प्रयोग गरेका छन् । उनका अनुसार बालसाहित्यले बालबालिकाको पठन अभिरुचिलाई बढाउन चार किसिमले सहयोग गर्छ । पहिलो, पठनमा सक्रिय सहभागिता, दोस्रो, बालमस्तिष्कमा सकारात्मक परिवर्तन, तेस्रो, मनोरञ्जन र चौथो, पठनशीलताको विकास ।,’ उहाँले भन्नुभयो, ‘यसैले बालसाहित्यलाई उपेक्षा गर्नुहुँदैन ।’
उहाँले बालसाहित्यसँग सम्बद्ध संस्थाहरूले बौद्धिक हस्तक्षेप गर्न नसकेको उहाँको भनाइ थियो । ‘बालसाहित्यसँग सम्बद्ध संस्थाहरू त छन् तर जे जस्तो बौद्धिक हस्तक्षेप हुनुपर्ने हो, त्यो भने हुन सकेको छैन । बालसाहित्यका विधाहरूका बारेमा पनि बहस गरेका छैनौँ,’ उहाँले भन्नुभयो । नेपालको बालसाहित्यको वर्तमान अवस्था र भविष्य के हो ? भन्ने नै अत्यन्तै जटिल विषय भएको उहाँको भनाइ थियो ।
बालसाहित्यका विषय गम्भीर विषय भएकोले बालबालिकाको संवेग र मनस्थितिलाई समेटेर लेख्न सक्नुपर्ने बताउँदै उहाँले बालसाहित्यको प्रश्नसँग बाल्य जीवनका प्रश्नहरूसमेत जोडिएको धारणा राख्नुभयो ।
‘बालसाहित्य के हो भन्नेबारेमा हामीले बहस गरेका छैनौ । यो कसले लेख्छ यसबारेमा पनि बहस छैन । बुढापाकाले लेखेको साहित्य पनि बालसाहित्य हुन्छ भनेर प्रश्न आउँछन् । जुन साहित्यले सत्यलाई सर्वभौम गर्न सक्छ, बालबालिकाको संवेग र मनस्थितिलाई समेटेर लेखिएको हुन्छ, त्यसलाई बालसाहित्य भनिन्छ । मनोरञ्जनका निम्ति र बालबालिकालाई प्रौढ हुन प्रोत्साहित गर्ने सामग्रीलाई बालसाहित्य भनिन्छ भनेर ब्रिटानिया इन्साक्लोपेडियामा उल्लेख छ,’ भट्टराईले भन्नुभयो ।
अहिले उमेर अनुसार फरकफरक साहित्य आउन थालेकोले त्यसलाई पनि विचार गर्नुपर्ने समय आएको उहाँको भनाइ थियो । बालसाहित्यले समेट्ने विधागत क्षेत्र के हो ? यसको गुणस्तर के हो ? विशेषता के हो ? भन्ने स्पष्ट हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘बालबालिकाका लागि खराब पुस्तक लेखिनु हुँदैन ।’
बच्चाले आनन्द लिँदै सिक्ने कुरा बालसाहित्यमा हुनुपर्ने उहाँको भनाइ रहयो । सामग्री बालबालिकाले आफै सिक्ने खालको हुनुपर्ने पनि उहाँको मत थियो । ‘रहस्य होस् या पुराना कथा होस् चाहे फेन्टासी होस् मानवीय जीवनका सत्य अनुभवलाई प्रस्तुत गर्नुपर्यो । ह्यारी पोर्टर सत्य हैन । तर जादुगरी क्याप्सुलभित्र मानिसले गर्ने बदमासीहरू छन् । ती बदमासीबाट उन्मुक्ति पाउन गरिने सङ्घर्ष यसमा छन्,’ उहाँले भन्नुभयो ।
जीवनसम्बद्ध प्रस्तुति भएमा बालसाहित्य गुणस्तरीय हुने उहाँको भनाइ थियो । ‘भाषामा ध्वनि हुनुपर्छ, सङ्गीत हुनुपर्छ र त्यसले बालबालिकालाई तान्नुपर्छ । लेखनमा कल्पना, विम्ब र कथानक हुनुपर्छ र त्यसलाई पढ्दा बालबालिकाहरू उत्साहित र खुसी हुनुपर्छ,’ प्राडा भट्टराईले भन्नुभयो । पछिल्लो समय बालसाहित्यमा उत्प्रेरणाका विषयमा पनि प्रशस्त कथा लेख्न थालिएको बताउँदै प्राडा भट्टराईले उत्प्रेरणाको नाममा जे पायो त्यही लेख्न नहुने स्पष्ट पार्नुभयो ।
विकसित मुलुकमा बालसाहित्यको क्षेत्रमा राज्यले अत्यधिक बजेट लगानी गर्ने भए पनि नेपालमा त्यस्तो हुन नसकेको उहाँले बताउनुभयो । ‘बालसाहित्यको भविष्य सुन्दर र राम्रो छ । बाहिर बालसाहित्यको व्यापार राम्रो छ । बालबालिकालाई राम्रो शिक्षा सबैको रुचिको विषय हो । पश्चिमी मुलुक र चीनमा बालसाहित्यमा राम्रो बजेट छ । हामी कहाँ छैन,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा विजयराज आचार्य, शान्ति सापकोटा, मञ्जु पौडेल, रमेशचन्द्र घिमिरे, सिर्जना शर्मा, अनन्त वाग्ले, मोहन कार्की, समन श्रेष्ठ, तारानिधि भट्टराई, अनुराधा शर्मा, समीरा राजभण्डारी, गीता त्रिपाठी, सोल सुवेदी पन्थी, प्रकाशमणि दाहाल, बैजयन्ती मिश्र,केशरी अम्गाई, सजनी नौबगे, लोकेन्द्र यादव, पुष्पा गुरुङ, सुमन केसी, सुरज राजथला, सुभांशु पी,अमरकुमार प्रधान, गंगा कर्माचार्य पौडेल, सोनिमा दाहाल, भवानी पाण्डे, विधा शर्मा, ध्रुव घिमिरे, होम भट्टराई, केदार श्रेष्ठ, क्रान्ति पाण्डे, पवित्रा दाहाल, परशुराम कोइराला, संगीता स्याङ्तन, यादेवी ढकाल, विजयराज न्यौपाने, मुकुन्द पथिक, धनप्रसाद सुवेदी, नेत्र तामाङलगायत सहभागी थिए ।

