काठमाडौँ । वरिष्ठ साहित्यकार रामकुमार पाँडेले आफ्नो जन्मदिवसको अवसर पारी ‘राकुपा बालबाङ्मय पुरस्कार’ घोषणा गर्नुभएको छ । असार २५ गते आफ्नो ७५ जन्मोत्सवका अवसरमा आयोजित भर्चुअल कार्यक्रममार्फत पाँडेले पुरस्कार घोषणा गर्नुभएको हो ।
बाङवाङ्मय तथा अनुसन्धान केन्द्र, काठमाडौंको आयोजनामा भएको भर्चुअल कार्यक्रममा बाल साहित्यलाई प्रोत्साहन गर्न पुरस्कार स्थापना गरिएको पाँडेले बताउनुभयो । केन्द्रका सल्लाहकारसमेत रहनुभएको पाँडेले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, ‘राकुपा बालवाङ्मय पुरस्कारको स्थापना २५ असार २०७८ मा गरिएको छ । यो पुरस्कार २० वर्ष मुनिका बालक एवं किशोरले रचना गरेका प्रकाशित किताबमा उत्कृष्टलाई पुरस्कार समितिले तोकेको रकममा ३६५ थपेर बर्षेनी प्रदान गरिनेछ ।’
नेपाली साहित्यका सुप्रसिद्ध हास्यव्यङ्ग्यकार, बालसाहित्यका स्रष्टा एवम् कथोपचारविधिका सर्जक, चित्रकार एवम् भूगोलविद् प्रा. पाँडेले पुरस्कारका लागि २ लाख ११ हजार १११ प्रदान गर्ने सहमति भइसकेको छ । सो रकमको ब्याजबाट प्रत्येक वर्ष २० वर्षमुनिका बालबालिकाहरूद्वारा लेखिएका कथाका कृतिमध्ये उत्कृष्ट ठहरिएको एउटा कृतिका स्रष्टालाई राकुपा बालवाङ्मय प्रतिभा पुरस्कार प्रदान छ । यो पुरस्कार २०७९ सालदेखि प्रदान गरिने छ । पुरस्कार राशिबारे भने पछि निर्णय हुने छ ।
कार्यक्रममा साहित्यकार मित्रबन्धु पौडेलले पाँडेको परिचय र योगदानको चर्चा गर्नुभएको थियो ।
हास्यव्यङ्ग्यकारका रूपमा पाँडेको योगदान नेपाली साहित्यमा विशिष्ट रहेको छ । केशवराज पिँडाली, भैरव अर्याल, श्याम गोतामे आदि प्रवृतिका स्रष्टाहरूकै निरन्तरतामा पाँडेले थुप्रै कृतिहरूमार्फत नेपाली हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएको छ । नेपाली साहित्यमा उनका हास्यव्यङ्ग्य निबन्धकृतिहरू पाँडे पुराणका नाममा चर्चित छन् । उहाँको यही व्यक्तित्वलाई उजागर गर्दै पाँडेका पाँडेपुराणबारे एक कृति, उनको जीवनी र विभिन्न २५ व्यक्तिहरूबाट उहाँका व्यक्तित्वका विभिन्न पाटालाई समेटेर लेखिएका २५ रचनाको सङ्ग्रहसमेत गरी तीन कृति प्रकाशित गर्ने केन्द्रको तयारी छ ।
केन्द्रका अध्यक्ष प्रमोद प्रधानको सभापतित्वमा भएको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति एवम् केन्द्रका सल्लाहकार, वरिष्ठ कलाकार केके कर्माचार्य प्रमुख अतिथि हुनुहुन्थ्यो । पाँडेलाई साहित्यकारहरु घनश्याम राजकर्णिकार, तीर्थ श्रेष्ठले शुभकामना दिँदै साहित्यमा उनको योगदानको चर्चा गर्नुभएको थियो ।
उपाध्यक्ष विजयराज आचार्यबाट केन्द्रको विज्ञप्ति वाचनसँगै शुरु भएको कार्यक्रममा नर्वेबाट प्रा. विशाल सिटौला, अमेरिकाबाट तीर्थ श्रेष्ठ, अमेरिकाबाटै साहित्यकार सिर्जना शर्मा, बेलायतबाट कृष्ण बजगाईं, क्यानडाबाट साहित्यकार सुरेन उप्रेतीले शुभकामना प्रदान गर्नुभयो । त्यसैगरी नेपाल बालसाहित्य समाजका अध्यक्ष प्राडा ध्रुव घिमिरे, केन्द्रका महासचिव अनन्त वाग्ले, केन्द्रकी सचिव मञ्जु ज्ञवाली, नाट्यकलाकार एवम् साहित्यकार केदार श्रेष्ठ, केन्द्रकी कोषाध्यक्ष शान्ति सापकोटालगायत संस्थाका आजीवन सदस्यहरुले शुभकामना दिनुभएको थियो ।
२००३ साल असार २५ गते जन्मिनुभएका पाँडे नर्वेमा बसोवास गर्नुहुन्छ । पाँडेले आफ्नो जन्मदिनलाई वर्षभर हिरक जन्मोत्सवका रुपमा साहित्यका क्षेत्रमा विभिन्न काम गर्ने घोषणासमेत गर्नुभएको थियो । एक वर्षभित्रमा तीन भिन्न ग्रन्थ तयार पार्ने अठोट उहाँको छ । नर्वे बसाईका क्रममा पनि आफू साहित्यमा निरन्तर लागिरहेको उल्लेख गर्दै पाँडेले विभिन्न पुस्तकहरु प्रकाशोन्मोख रहेको बताउनुभयो ।
जसमा ‘चिना बिनाको मान्छे’ पारिवारिक सामाजिक इतिहास, ‘हाँसै हाँसो’ (हास्यव्यंग्य संग्रह), हसाँउने कविता (हास्यब्यङ्ग्य कविताहरुको संकलन), हाइकुः हिमकन्या (हाइकु खण्ड काब्य), ईन्द्रलोक (हाइकु महाकाब्य), Haiku Bud -English Haiku collection, लेउ, झ्याउ र च्याउ (नेपाली हाइकु संग्रह रहेका छन् । त्यसैगरी कथाः ‘जिउदो सालीक (आफ्नै जीवनमा आधारित बाल उपन्यास), कथाकुथुङ्री (लघु कथा संग्रह), जीवनीः रामकुमार पाँडेसँग जम्का भेट ः डा. यादवप्रशाद ढुङ्गाना, फेस टु फेस प्रा. सिताराम अधिकारि लिखित पुस्तिका रहेका छन् ।
त्यसैगरी भूगोल विधामा अल्टिच्युट जियोग्राफी, जर्नालिजम जियोग्राफी, रिकन्ट्रक्टिङ नेपाल अनुसन्धानमा आधारित पुस्तकहरुका पान्डुलिपी तयार भएको उहाँले बताउनुभयो ।
पचत्तर बर्षमा आइपुग्दा साहित्यका बिभिन्न बिधा, उपबिधाहरु र बिधाका विभिन्न बिषयहरुका थुप्रै कृति सिर्जना भयो,’ पाँडेले भन्नुभयो, यसमा सयभन्दा केही बढी पुस्तकका रुपमा छन भने पाण्डुलिपिका फाइनल गरेका र गर्न बाँकी थुप्रै कृति रहेका छन । आफ्नो जीवनकालमा सबै प्रकाशित नभए पनि पान्डुलिपिका रुपमा तयार गर्ने सिलसिला जारी छ ।’

