स्रष्टालाई बालवाङ्मय सम्मान

बालवाङ्मय तथा अनुसन्धान केन्द्रले आफ्नो १३औं स्थापना दिवसका अवसरमा कला क्षेत्रमा सिर्जनाका माध्यमबाट योगदान पुर्‍याएका स्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । शनिबार नक्सालस्थित नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा ‘साहित्य–सृष्टि बालवाङ्मय साधना सम्मान–२०८२’बाट कलाकार कृष्णभक्त महर्जनलाई प्रदान गरिएको छ । कलाकार महर्जनलाई वरिष्ठ कलाकार हरिहर शर्मा, पुरस्कार संस्थापक तथा केन्द्रका सल्लाहकार प्रमोद प्रधान, केन्द्रका अध्यक्ष अनन्त वाग्ले लगायतले नगद २५ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । यसअघि यो सम्मानबाट  स्रष्ठाहरु शान्तदास मानन्धर, टेकवीर मुखिया, नुपुर भट्टचार्य सम्मानित भैसक्नुभएको छ । त्यस्तै, ‘राकुपा बालबाङ्मय बाल पुस्तक पुरस्कार–२०८१’बाट ‘बालापनका धर्साहरु’ पुस्तकका लागि आर्या त्रिपाठी, ‘केके कर्माचार्य बालवाङ्मय चित्रकला सम्मान २०८२’बाट चित्रकार देवेन्द्र पाण्डे ‘देवेन’ र ‘जयहिरा बालबाङ्मय किशोर आख्यान पुरस्कार–२०८१’बाट पुस्तक ‘कालग्रन्थ’का लागि रोशन पोखरेल सम्मानित हुनुभएको छ।  सम्मानित सबैलाई वरिष्ठ कलाकार शर्मा , केन्द्रका अध्यक्ष वाग्ले, पुरस्कारका संस्थापकहरु केके कर्माचार्य, सिर्जना शर्माले जनही १० हजार रुपैयाँ नगद तथा सम्मानपत्र हस्तान्तरण गर्नुभयो । ‘साहित्य–सृष्टि बालवाङ्मय साधना सम्मान’, ‘राकुपा बालबाङ्मय बाल पुस्तक पुरस्कार’, ‘केके कर्माचार्य बालवाङ्मय चित्रकला सम्मान’ र ‘जयहिरा बालवाङ्मय किशोर साहित्य पुरस्कार’ क्रमशः सर्जकहरु प्रमोद प्रधान, रामकुमार पाँडे, केके कर्माचार्य र सिर्जना शर्माले स्थापना गर्नुभएको हो। संस्था खोल्नु गाह्रो होइन, त्यसलाई निरन्तरता दिन गाह्रो रहेको बताउँदै कलाकार शर्माले केन्द्रको अझै प्रगतिको कामना गर्नुभयो । शर्माले राष्ट्रको परिचय माटो मात्र नभएको धारणा राख्नुभयो । उहाँको अनुसार हामीले अपनाएको कला, सभ्यता र संस्कृति पनि राष्ट्र हो । यसको जरालाई बलियो बनाएर लैजानलाई उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘बालबालिका भविष्यको कर्णधार हो । बाल साहित्यको विषय, शैली र प्रस्तुति जस्तोसुकै भएपनि बालबालिकालाई शिक्षा दिने, सन्देशमूलक र बालबालिकाको मनोबिज्ञानिकलाई कालान्तरसम्म छुने हुनुपर्छ ।’ केन्द्रका अध्यक्ष वाग्लेले सम्मानित तथा पुरस्कृत सबैलाई बधाई ज्ञापन गर्दै बालवाङ्मय तथा अनुसन्धान केन्द्रले १३ वर्षको यात्रा गर्दै गर्दा अझै जिम्मेवार र सचेत भएर अगाडि बढ्नुपर्ने भन्नुभयो । नयाँ आउने बालबालिकालाई चरीत्रवान बनाउन नेपाली नाटक, कथा जस्ता साहित्य सिर्जनाले सघाउन सक्ने बताउँदै केन्द्रका सल्लाहकार प्रधानले साहित्य सिर्जनाले नै योग्य भएका बालबालिका मार्फत देश निर्माण हुन सक्ने धारणा राख्नुभयो । सम्मानित र पुरस्कृत व्यक्तित्वहरुलाई पुरस्कारका संस्थापक एवं केन्द्रका सल्लाहकारहरु कर्माचार्य र शर्माले बधाई ज्ञापन गर्दै आगामी कला सिर्जनाका लागि शुभकामना व्यक्त गर्नुभयो । सम्मानित कलाकार महर्जनले सम्मानप्रति केन्द्रप्रति आभार व्यक्त गर्दै जंगबहादुरको विषयमा नाटक समेत प्रस्तुत गर्नुभएको थियो । केन्द्रका सल्लाहकार तारानिधि भट्टराईले पुरस्कृत ‘बालापनका धर्साहरु’ र ‘कालग्रन्थ’माथि चर्चा गर्नुभयो । कार्यक्रममा ज्ञानवृक्ष पब्लिकेशनले प्रकाशित गरेको मानवीय भावना र संवेदनाहरु विषयवस्तु बनाएर सिर्जना गरिएको संयुक्त बालकथा संग्रह ‘मनसा’ समेत सार्वजनिक गरियो । संग्रहमा २० जना बाल कथाकारका बाल कथाहरु समावेश छन् । साहित्यकार, चित्रकार, पत्रकार, कलाप्रेमी व्यक्तित्वहरु सहभागी भएको कार्यक्रममा केन्द्रका महासचिव शान्ति सापकोटाले सञ्चालन गर्नुभएको थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *